एमाले सुदूरपश्चिम संसदीय दल विभाजित, मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय

Spread the love

धनगढी, जेठ २५ (ई-रैवार)  

नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीले विपक्षमा मत हाल्न दिएको निर्देशनविपरित नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

२४ सदस्यी संसदीय दलमा केपी ओली पक्षका ७ सांसदले भने बहुमतको उक्त निर्णयमा असहमति जनाएका छन् । एमालेका लीलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ।

योसँगै सुदूरपश्चिम प्रदेशमा एमालेको संसदीय दल पनि विभाजित भएको छ । आजै कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

योसँगै मुख्यमन्त्री भट्टको पद जोगिने भएको छ । उनले  विश्वासको मतका लागि अहिले प्रदेशसभामा प्रस्ताव राख्दैछन् । भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने भएका छन्। केन्द्रमा भएको सत्ता समिकरण अनुसार मुख्यमन्त्रीलाई विस्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी बताए। संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ।