बामदेवको मुद्दाका कारण रोकियो मन्त्रिमण्डल पूनर्गठन

बामदेवको मुद्दाका कारण रोकियो मन्त्रिमण्डल पूनर्गठन
Spread the love

काठमाडौं, असोज ११ (ई–रैवार) 

मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई ।

आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको छ ।

अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन सर्वोच्च अदालतको संवैधानिक इजलाशले बामदेव गौतमलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ । इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् ।

आज प्रचण्ड बालुवाटार पुगेर नरोकेको भए मन्त्रीहरुको लिष्ट नै तयार गरी पुर्नगठन हुने भइसकेको थियो । कतिपयलाई मन्त्री बनाउने खबर आइसकेको विश्वस्त सूत्रले बताएको छ । उनीहरुले दौरा सुरुवाल ठिक्क पारिसकेका छन् ।

अब ठिक्क पारेको दौरा सुरुवाल केही दिन फेरि थन्कने भएको छ । यसपटक बामदेवमाथि दिने त्रिपाठीले दायर गरेको मुद्दाले धेरैको मन्त्री बन्ने सम्भावनालाई केही दिन पछि धकेल्यो । बिदा हुन लागेका मन्त्रीहरु केही दिन पदमै रहने भएका छन् । तर, धेरै मन्त्रीहरुले बिदा हुनुपर्ने संकेत पाइसकेकाले अग्रिम तयारी गर्न थालेका छन् ।

रिपोर्टर्स नेपालबाट