काठमाडौँ, जेठ २४ (ई-रैवार)
संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको हो ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च प्रशासनलाई आफू बिरामी भएको जानकारी गराएका अदालत प्रशासनले जनाएको छ । ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ सर्वोच्च अदालत प्रशासन स्रोतले भन्यो ।
सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ नहुने बताइएको छ । जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ ।
संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।
तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानुनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।
आइतबार सरकारी पक्षबाट यो माग उठेपछि प्रधान्यायाधीश राणाले मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए ।


