काठमाडौँ, जेठ २४ (ई-रैवार)
नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसित प्रतिस्पर्धा गर्दै छ । सन् २०२२ को विश्वकप फुटबल र सन् २०२३ को एसिया कप दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र जोर्डन भिड्न लागेका हुन् ।
कुवेतमा हुने खेल नेपाली समयानुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । नेपाल र जोर्डन यसअघि तीनपटक आमने/सामने भएका छन् । त्यसमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो । पछिल्लोपटक सन् २०१९ मा नेपाल जोर्डनसित ३-० ले पराजित भएको थियो । फिफा वरीयतामा हाल जोर्डन ९५औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ ।
नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको छ । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो ।
पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब बाँकी खेलमा भने नेपाली टोलीको वास्तविक परिक्षा हुनेछ । नेपाली टोलीले सोमबार जोर्डनको सामना गर्दैछ । त्यसपछि जेठ २८ गते अष्ट्रेलियाको सामना गर्नेछ । ती दुई खेलपछि वास्तवमा नेपाली टोलीमा आएको भनिएको परिवर्तन खासमा महसुस गर्न सकिन्छ ।
चाइनिज ताइपेलाई हराउनु अघि इराकसँगको मैत्रीपूर्ण खेल ६–२ ले गुमएपछि समर्थकले नेपाली टोलीको प्रदर्शनको प्रसंशा गरेका थिए । नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रणनीतिलाई धेरैले तारिफ गरेका छन् । खासमा अलमुताइरीको रणनीतिको परिक्षा पनि जोर्डनसँगको खेलबाटै हुनेछ । नेपाल र जोर्डनबीच सोमबार नेपाली समय अनुसार राती ९:४५ बजे खेल सुरु हुनेछ ।


