सुदूरपश्चिम प्रदेशमा शुक्रबार ३६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ २१ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा १ हजार ११९ नमुना पीसीआर र ४ वटा सीमानाकामा १ हजार ५ सय ४३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५९ जनाको नमूना परीक्षण गर्दा ५१ जना, महाकाली अस्पतालमा ६५ नमूना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा १०२ जनाको नमुना परीक्षण गर्दा ३१ जना, डोटी अस्पतालमा २९ जनाको परिक्षाण गर्दा २७ जना र अछामको कमलबजार प्रोगशालामा ६४ जनाको परिक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा १ हजार ३८९ जना निको भएर घर फर्किएको जनाएको छ। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३४ हजार २६७ नमूना परीक्षण गर्दा ४० हजार ९४१ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि भएका २९ हजार ५१८ जनाले कोरोना जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका २ जना, कञ्चनपुरका ३ जना, डडेल्धुराका २ जना र बझाङका १ जनागरि ८ जनाको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।