होम आइसोलसनमा बढी जोखिम

Spread the love

दार्चुला, जेठ १९ (ई-रैवार)  

गाउँमा कोरोनासंँग मिल्दो लक्षण भएका बिरामी धेरै भए पनि परीक्षणको दायरा बढेको छैन । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दो छ । सीमानाका भएर भित्रिने र उपचारका लागि अस्पतालमा आउने बिरामीको परीक्षण गर्दा अधिकांशमा संक्रमण देखा परिहेको छ ।

संक्रमितले होम आइसोलेसन बस्दा पनि संक्रमण झन् तीव्र बनेको छ । संक्रमितलाई संस्थागत आइसोलेसनमा नराखी घर पठाउने गरिएकाले दुर्गम गाउँबस्तीसम्म संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

संक्रमितलाई कम्तीमा १० दिनसम्म घरमा अलगै बस्न भनिए पनि परिवारसंँगै खाने बस्ने र गाउँमा डुलिरहने हुँदा ग्रामीण भेगमा संक्रमण बढिरहेको व्यास गाउँपालिका–५ का रामसिंह कुँवरले बताए । ‘गाउँमा बिरामी धेरै छन् । सरोकारवाला निकाय परीक्षणको दायरा घटाएर संक्रमित घट्दै गएको भनिरहेका छन्,’ उनले भने, ‘धेरैजसो बस्तीका अधिकांश परिवारमा कोरोनाजस्तो लक्षण भएका ज्वरो आउने र रुघाखोकीका बिरामी भेटिन्छन् ।’

संक्रमितको उपचारका लागि दार्चुलामा जिल्ला अस्पताल, गोकुलेश्वर अस्पताल र ९ वटै स्थानीय तहले स्वास्थ्यकर्मी र अक्सिजनको सुविधासहित १ सय ३० शय्याको आइसोलेसन सञ्चालन गरेका छन् । तर अधिकांश संक्रमितहरू होम आइसोलेसनमा छन् ।

जिल्लामा अहिले संक्रिय संक्रमित १ सय २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ५ जना जिल्ला अस्पताल, ३ जना गोकुलेश्वर अस्पताल र १ जना मालिकार्जुन गाउँपालिकाको कोभिड अस्पतालमा गरी ९ जना मात्र उपचाररत छन् । बाँकी एक सय १८ जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन वीरेन्द्र भट्टले बताए । कान्तिपुर दैनिकबाट