विपक्षी गठबन्धन बैठक : सरकारका असंवैधानिक कदमको प्रतिवाद गर्ने

Spread the love

काठमाडौँ, जेठ १६ (ई-रैवार) 

विपक्षी गठबन्धनले सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको बैठकले काम चलाउ सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा सरकारले गरेका एकपछि अर्का असंवैधानिक कदमको विरोध गर्नेबारे छलफल भएको बताए । कोरोना भाइरस महामारीबाट सुरक्षित हुँदै राजनीतिक रूपमा कसरी प्रतिवाद गर्ने भन्ने विषयमा छलफल र सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे पनि समीक्षा भएको वरिष्ठ नेता पौडेलले बताए ।

‘कोरोनाबाट राजनीतिक रूपमा पनि कसरी प्रतिवाद गर्ने भन्नेबारे हामीले छलफल गरेका छौं । असंवैधानिक कदमका विरुद्ध क्याम्पेन गरेर अघि बढ्ने बारे कुराकानी भएको छ,’ पौडेलले भने ।

विपक्षी गठबन्धनको बैठकमा सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर संविधान मिच्ने काम गरेको बैठकले ठहर गरेको छ । बैठकले प्रतिनिधिसभा विघटनगरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

बैठकमा विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताहरुले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

“संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सवोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गरिएको छ ।