पहिरोले २३ जना बेपत्ता भएको थलारामा प्रहरीको एक टोली पुग्यो, ईप्रका थलाराको टोली भने सम्पर्क बिहीन

Spread the love

बझाङ, कार्तिक २ (ई-रैवार) 

थलारा गाउँपालिकामा पहिरोमा पुरिएर २३ जना बेपत्ता भएको जानकारी पाएपछि परिचालन गरिएको प्रहरी टोली साँझ घट्नास्थल पुगेको छ । बझाङको थलारा गाउँपालिका – ४ डिख्लामा पहिरोमा पुरिएर २३ जनाको बेपत्ता भएको जानकारी पाएपछि परिचालन गरिएको झोता प्रहरी चौकीको टोली साँझ घट्नास्थल पुगेको हो ।

घट्नास्थल तर्फ गएको ईलाका प्रहरी कार्यालय थलाराको टोली भने सम्पर्क बिहीन भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ अधिकृत(एसएसपी) बिक्रम चन्दले प्रहरी सहायक निरिक्षकको नेतृत्वमा झोताबाट गएको चार जना प्रहरीको टोली घट्नास्थल पुगिसकेको बताएका हुन ।

प्रवक्ता प्रहरी बरिष्ठ अधिकृत चन्दले घट्नाको यकिन बिवरण भने आइनसकेको बताए । मंगलवार बिहान चार बजे आएको पहिरोमा डिख्लाका २३ जना बेपत्ता भएको जानकारी पाएपछि प्रहरीको टोली घट्नास्थल तर्फ गएको हो ।

पहिरोमा परी बेपत्ता हुनेहरुमा थलारा गाउँपालिका– ४ डिख्लाका गगने सार्कीका घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको स्थानीयले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की,, प्रवाश सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, संजीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवाश सार्की,, विकास सार्की, मदन सार्की, सरस्वती आवासीय विद्यालय पिपलगडाका शिक्षक कलुदेवी सार्की, र एलिसा सार्की समेत गरी १८ जना रहेका छन् । गगने सार्कीका माईला छोरा काले सार्की भने जोगिएका छन् । गगने भने भारतमा छन् ।

त्यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की समेत गरी पाँच जना बेपत्ता भएका छन्। पहिरोले दुई घर बगेका छन् । सात घर पुरिएका छन् ।

बाढी र पहिरोका कारण विस्थापित तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका बासिन्दा त्रिभुवन माध्यामिक विद्यालय महेन्द्रधारमा आश्रय लिएर बसिरहेका छन् । बाढीको उच्च जोखिममा रहेका सयभन्दा बढि परिवार विद्यालय र डाडामा बसिरहेका छन् । खुला आकाश मुन्तिर बस्न बाध्य विस्थापितहरुलाई छाक टार्न समेत समस्या भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कँडेलले प्रहरी घट्नास्थलमा पुगिसकेको बताए । उनले विस्तृत विवरण भने आउन बाँकी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले सडक अवरुद्ध हुनुका साथै बिभिन्न ठाउँमा गएको पहिरोका कारण उद्दारमा कठिनाई भएको बताएका छन् ।