काठमाण्डौँ, फागुन १३ (ई-रैवार)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया सुरु नभएसम्म नेपाली कांग्रेसले गर्ने भूमिका केही नभएको बताएका छन् ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
“संसदीय प्रक्रिया केही सुरु भएको छैन । संसदीय प्रक्रिया सुरु नभएसम्म नेपाली कांग्रेसले गर्ने भूमिका केही छैन,” नेता पोडेलले भने, “त्यसकारण संसदीय प्रक्रिया सुरु भएपछि हाम्रो पार्टीले सल्लाह गरेर निर्णय गर्छ । संसदीय प्रणालीको प्रक्रिया आएपछि कांग्रेसले के गर्ने भन्ने आउँछ ।”
उनले प्रतिनिधि सभा पुनस्र्थापना गरेर सर्वोच्च अदालतले देशलाई ठूलो संकटबाट जोगाएको पनि प्रतिक्रिया दिए । “सर्वोच्च अदालतले लोकतन्त्र र संसदीय प्रणालीलाई बचाएको छ, यसमा सन्तोष मिलेको छ,” नेता पौडेलले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिएरमात्रै प्रतिनिधि सभाको बैठकमा आउन सक्ने पनि बताए । पौडेलले भंग गरेको संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली कुन मुखले जाने भन्दै प्रश्न गरेका छन् । “प्रधानमन्त्रीको राजीनामाबारे हामीले बोलिसकेका छौँ । मैले बोलिसकेको छु, सभापतिज्यूले बोलिसक्नु भएको छ,” उनले प्रश्न गरे, “नैतिकता हो भने आफैँले भंग गरेको संसद् कसरी जानु हुन्छ ? कुन मुखले जानुहुन्छ र ? हामीले उहाँको राजीनामा पहिले नै मागेका हौँ ।”


