नेता कार्यकर्ताको पार्टी कार्यालयमा अनसनप्रति सभापति देउवाको चासो, तत्काल धर्ना र अनशनको सुनुवाई गर्न निर्देशन

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् ।

बुढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले तत्काल उनीहरुको मागको सम्बन्धमा सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका हुन ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी समेत दिएका छन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको बैठकमा देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानवीन गर्न दवाव दिँदैै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभरमा सुुनुवाई गरी भोलि बिहान बस्ने पदाधिकारी बैठकमा पेश गर्न समितिलाई निर्देशन दिएका छन् ।

कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभापति देउवाले शुक्रबार नै उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता वितरणका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने पार्टी केन्द्रित कार्य समितिले मात्रै टुंगो लगाउने पनि स्पष्ट पारेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आईतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी समेत गराएका थिए ।
काँग्रेसले भोली विहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

बैठकमा केन्द्रिय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।

तोकिएकै समयमा महाधिवेशन : देउवा

पूर्वपदाधिकारी र वर्तमान पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनका बारेमा छलफल भएको छ । तर शनिबार बस्ने बैठकले कार्यतालिका संशोधन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार सभापति देउवाले केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्न आग्रह गरे ।

‘केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गते नै हुने गरी बाँकी कार्यतालिका तयार गर्नुस्,’ देउवाले भने, ‘कुनै पनि हालतमा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले समायोजनका नाममा नयाँ क्रियाशील सदस्यता वितरणमा मापदण्ड उल्लंघन भएको उल्लेख गरे । ‘जिल्लामा लामो समय काम गरेका नेता कार्यकर्तालाई अल्पमतमा पर्ने गरी समायोजनका नाममा प्रक्रियाविपरीत क्रियाशील बाँड्ने काम भएको छ,’  उनले भने, ‘मापदण्ड विपरीत वितरण गरिएका क्रियाशील सदस्यता सच्याउनुपर्दछ ।’

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको कामका बारेमा जानकारी गराएका थिए । उनले शनिबार साँझसम्म अन्तिम प्रतिवेदन सभापतिलाई बुझाउने जानकारी गराए ।

क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा स्थानीय अधिवेशन सर्ने निश्चित भएको छ । महाधिवेशन कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्नेछ । पूर्वसहमहामन्त्री केसीले स्थानीय अधिवेशननको कार्यतालिका परिमार्जनबारे निर्णय गर्न शनिबार फेरि पदाधिकारी बैठक बस्ने भएको छ । ‘शनिबार बस्ने पदाधिकारी बैठकले स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘सभापतिज्यूले केन्द्रीय महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भन्नुभएको छ, त्यसैले वडादेखि प्रदेश महाधिवेशनको मिति फेरबदल हुन्छ ।’

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो ।