स्वास्थ्यकर्मी कुटपिटको विरोधमा भेरी अस्पतालमा बिहानैदेखि प्रदर्शन, कुटपिट आरोपमा ३ जना पक्राउ

Spread the love

नेपालगञ्ज, जेठ १४ (ई-रैवार)

स्वास्थ्यकर्मी कुटपिटको विरोधमा भेरी अस्पतालमा बिहानैदेखि प्रदर्शन भएको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रदर्शन स्वास्थ्यकर्मी कुटपिटको विरोधमा आज बिहानैदेखि कुटपिटमा संलग्नलाई कडा कारवाही माग गर्दै प्रदर्शन भएको हो ।

कोरोना संक्रमित बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टर र नर्समाथि कुटपिट गरेको विरोधमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रदर्शन भएको छ । उनीहरूले सुरक्षा नहुने हो भने काम गर्न नसकिने बताएका छन्। ‘हामी न्याय चाहन्छौं, दोषीलाई कारवाही गर्,’ उनीहरूले भनेका छन्।

मुख्यमन्त्री शंकर पोखरेल, प्रहरी र प्रशासन घटनाबारे छानविन गर्न गम्भीर हुनुपर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने स्वास्थ्यकर्मीको माग छ।उनीहरूले हातमा प्लेकार्ड लिएर ‘अब त अति भो, स्वास्थ्यकर्मी कुट्न पाइँदैन’ भन्ने नारासहित प्रदर्शन गरेका छन्।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।

प्रहरीले भेरी अस्पतालका चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घटनाबारे छानविनगरी दोषीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना हुनु दुखद भएको उनको भनाइ छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् । घटनाबारे छानविन गरी दोषीलाई कडा कारवाही गर्न नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  माग गरेका छन्।

उनीहरुले भेरी अस्पतालको घटनाबारे सामाजिक सन्जालमा धारणा सार्वजनिक गर्दै आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको माग गरेका हुन ।

कांग्रेस सभापति देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’