धरान, जेठ १४ (ई-रैवार)
प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा ५ जना प्रहरी घाइते भएका छन् । मोटरसाइकलमा आएको ८-९ जनाको समूहले सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच ५ प्रहरी घाइते भएका हुन् ।
प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित वडा समिति कार्यालयको अगाडि रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्दा असईसहित ५ जना प्रहरी घाइते भएका हुन् ।
घटनामा असईसहित पाँचजना प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् ।
स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन चौकी आएका थिए । तत्कालै केही युवा आएर उनीहरूमाथि आक्रमण गर्न थालेका थिए ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो ।
उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए । जाहेरी दिन आएका व्यक्तिसँग प्रहरी सहायक निरीक्षक सुमन दाहालले जानकारी लिरहेका बेला एक्कासी युवा प्रवेशगरी खुकुरी प्रहार गरेका थिए ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका समूहहरुले बिहीबार साँझ ७ बजे प्रहरीमाथि आक्रमण गरेका हुन् । आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असई दाहालको बायाँ हातमा चोट लागेको छ ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।


