प्रधानमन्त्री ओलीले लगाए कांग्रेसलाई प्रचण्डपथ अंगिकार गरेको आरोप

Spread the love

काठमाडौं, जेठ ९ (ई-रैवार)

कांग्रेसले प्रचण्डपथ अंगिकार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस प्रचण्डपथ अंगिकार गरेर कुदेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको आरोप लगाएका हुन् । आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको समेत ओलीले आरोप लगाएका छन्।

‘प्रचण्डहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’ नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जाको पथमा गएको बताए।

‘आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदे जस्तो लाग्छ । कब्जाको बाटोमा । सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैं वितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिजाउन खोज्ने प्रयास हुँदै आए र गत वर्षदेखि यो अत्यन्तै तीव्र भए । मलाई ताज्जुब लाग्छ ।,’ओलीले भने ।

कांग्रेस सचेतक पुष्पा भुसालले ओलीको नेतृत्वमा हुने चुनावमा भाग नलिने बताएको प्रसंग जोड्दै ओलीले कांग्रेसको बोली सुनेर आफूलाई आश्चर्य लागेको बताए ।

‘उहाँले केपी ओलीले गराएको चुनावमा भाग लिँदैन भन्नु भयो । कसले गरेको चुनावमा भाग लिने त रु केपी ओलीले गरेको चुनावमा भाग नलिने हो भने कसले गरेको चुनावमा भाग लिने रु भाग लिन नेपाली कांग्रेसले प्रधानमन्त्री टिको लगाइदिने कि रु,’ ओलीले भने, ‘अहिलेको प्रधानमन्त्री देशमा धेरै पपुलर भोट भएको, दुई पार्टी मिल्दा पनि प्रतिनिधिसभामा एक्लो ठूलो पार्टीको नेतृत्वको चुनावमा नजाने । कुन डेमोक्रेसीको परिभाषा भित्र पर्छ यो रु नेपाली कांग्रेको बोली सुनेर मलाई आश्चर्य लागेको छ ।’

‘कांग्रेस अहिले उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा । आफूले चुनाव गराउन पर्ने । आफैले गरेको चुनावमा उहाँहरु २३ सिटमा झरेको हैन रु अनि आफ्नै नेतृत्वमा चुनाव हुनुपर्छ भन्ने के भनेको त्यो रु म सबैलाई आग्रह गर्छु, आवेश उत्तेजनाको राजनीति नगरौं,’ ओलीले थपे ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याउन खोजेको बताए।  ‘अरू पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर एउटा होइन, केही तत्वलाई उकासेर कोहीका किर्ते सही गराएर उहाँ जानुभयो,’ ओलीले भने,‘दलहरूमा विग्रह ल्याएर लोकतन्त्र बलियो हुन्छ त रु’

ओलीले माधवकुमार नेपाल गुटले तमासा गरेर पार्टी फुटाउन खोजेको बताएका छन् । “माधव नेपाल गुटले तमासा गर्‍यो । पहिले कांग्रेसमा छत्तिसे र चौहत्तरे थिए, अहिले त्यस्तै देखिँदैछ,” उनले भने, “पार्टी फुटाउनै छ भने सफल हुन दिँदैनन् । विश्वासको मत लिन्छु भनेर संसद् आह्वान भयो । त्यसपछि माओवादीले समर्थन फिर्ता लिएँ भन्यो । माओवादीले समर्थन फिर्ता लिएपछि एक दलको मात्रै सरकार बन्यो ।”

ओलीले यसअघि शनिबार शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको सम्मान नगरेको भन्दै  आपत्ति जनाएका थिए। ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको दावी गरे ।

उनले  संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पारे ।

उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन ।’

उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले अपव्याख्या हुन थालेको पनि टिप्पणी गरे । उनले भने, ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो ।’

प्रधानमन्त्री ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं ।’

ओलीले मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि नदेख्ने बताएका छन् । “मिसन पत्रकारिताले सरकारको उपलब्धि देख्दैनन्, उपलब्धिको बारेमा चर्चा नगर्ने । कमजोरीको चर्चा गर्ने । कमजोरी नभए बनावटी चर्चा गर्ने । मार्मिक कहानी बनाउने । यस्तो बेलामा मार्मिक अवस्था बन्छ पनि । त्यस मार्मिक स्थितिको चित्रण गर्ने रु” उनले मार्मिक स्थितिलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नेहरु रहेको बताए ।