धनगढी,साउन ८ (ई-रैवार)
सुदूरपश्चिममा बाढीपहिरो कारण १३ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन । भने करवि १ सय ८६ परिवार विस्थापित भएका छन ।
सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीले ठूलो क्षती गरेको हो । बर्षात सुरु भएसँगै सुदूरपश्चिममा बढ्दै गएको विपद्का घटनाले स्थानीय त्रसित हुनुका साथै बाढीपहिरोले दुई दर्जन बढी घर बगाएको छ ।
बाढीपहिरोको बिपतबाट बच्न पूर्व तयारी र दिर्घकालिन उपाय नगरिँदा वर्षेनी ठूलो धनजनको क्षती हुने गरेको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीका स्थानीयवासी वैकल्पिक बसोबासको विकल्प नहुँदा सधैें पीडामा बर्षातको समय बिताउने गर्छन । पहाडमा मापदण्ड र डिजाईन विपरित अन्धाधुन्द डोजरले सडक काट्दा पहिरोको जोखिममा थुप्रै बस्ती परेका छन, भने तराईमा चुरे बिनास, अनियन्त्रित रूपमा गिट्टी बालुवा निकाल्दा कटान र बाढीको जोखिम बढेको स्थानीयहरु बताउँछन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा यहाँ पहिरोका २५ घटनामा १३ जनाको मृत्यु भएको छ । पहिरोका कारण एक जना अझैं बेपत्ता अवस्थामा रहेका छन भने १८ जना घाइते भएका छन । त्यस्तै प्रदेशमा बाढीका ६ घटनामा धेरै धनमालको क्षति हुनुका साथै १ सय ८६ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।
सुदूरपश्चिम प्रदेशमा विपद्का घटनामा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ। पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण ८ जनाले ज्यान गुमाएको छन । पहिरोकै कारण बझाङमा ३४ परिवार विस्थापित भएका छन । भने १७ घरमा पूर्ण क्षति पुगेको छ। पछिल्लो अवधिमा दार्चुलामा दुई जना पुरुष र दुई महिलाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन । बाढी र पहिरोका घटनामा दार्चुलामा ६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। बाढी तथा पहिरोबाट दार्चुलामा ९ परिवार विस्थापित भएका छन ।
डोटीमा ८ वटा विपद्का घटना भएका छन । घटनामा एक पुरुषको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन । बाढी र पहिरोबाट डोटीमा ३३ घरपरिवार प्रभावित भएका छन । बैतडीमा ३, कञ्चनपुरमा २ र कैलालीमा २ वटा विपद्का घटना भए पनि यहाँ अहिलेसम्म मानवीय क्षति भने भएको छैन । कैलालीमा बाढीबाट १४ घरपरिवार प्रभावित भएका छन भने कञ्चनपुरमा २ घर प्रभावित भएका छन ।
बाजुरा जिल्लामा एकको मृत्यु भएको छ, भने पहिरोका कारण एक घाइते भएका छन। बाढी तथा पहिरोबाट बाजुरामा २० परिवार प्रभावित भएका छन। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार विपद्का विभिन्न घटनामा करिब २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।
बाजुरा त्रिवेणी नगरपालिका— ७ कोसेडीका ३ परिवार र वडा नम्बर ४ तोलीका ३ परिवार पहिरोको उच्च जोखिममा रहेका दैविक प्रकोप उद्धार समितिका संयोजक एवं बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए । उनका अनुसार खप्तड छेडेदह गाउँपालिका ७ गम्लागाउँका ४५ घरधुरी र सोही गाउँपालिकाको दशरथ बठालेख प्राविको भवन पनि उच्च जोखिममा छ।

खानेपानीको हाहाकार
लगातारको वर्षाले र पहिरोले बाजुरामा खानेपानीसमेत बगाएको छ। बूढीगंगा नगरपालिका— २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताप्रीसेरालगायतका बस्तीमा आइतबार आएको बाढी पहिराले खानेपानी अवरुद्ध बनाएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । उनका अनुसार पानीको मुहान नै पहिराले बगाएको छ ।
पहिरोले खानेपानी नै बगाएपछि बूढीगंगा नगरपालिकाका २ र ३ का ५ सयभन्दा बढी परिवार समस्यामा परेका वडा नम्बर २ का अध्यक्ष हीरालाल थापाले बताए । बाजुराका विभिन्न भेगका ९५ बस्ती प्रकोपको उच्च जोखिममा रहेका जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ । बस्ती स्थानान्तरणका लागि पटकपटक सहरी विकास तथा भवन विभाग र अन्य निकायको ध्यानाकर्षण गराइए पनि सुनुवाइ भएको छैन ।
बाढीपीडित त्रिपालमुनि
अविरल वर्षाले महाकाली नगरपालिका क्षेत्रका घर र पसल डुबाएपछि दार्चुलाको डुङरीका स्थानीय त्रिपालमुनि रात काट्न बाध्य भएका छन । संकटका बेला तीनै तहका सरकारले आफूहरूको समस्या सम्बोधन नगरेको उनीहरूको गुनासो छ।


