काठमाडौं, जेठ ७ (ई-रैवार)
सरकारको दाबी गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन । कांग्रेस सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गर्ने भएका हुन्।
गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका छन् ।
शुक्रबार काँग्रेस संसदीय दलको कार्यालय सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको थियो ।
माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।


