काठमाडौं, जेठ ७ (ई-रैवार)
कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् ।
बूढानीलकण्ठस्थित देउवा निवासको सर्वदलीय छलफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।
कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न लागेका हुन् ।
कांग्रेस पदाधिकारी बैठकले सबै विकल्प खुला राखेर अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कांग्रेसले छलफल थालेको हो ।
प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । समय छोटिँदै जाँदा दलहरूबीच संवाद तीव्र बनेको छ ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।


