अभिनेत्री रिया चक्रवर्तीको जमानतमा आज फैसला आउँदै

अभिनेत्री रिया चक्रवर्तीको जमानतमा आज फैसला आउँदै
Spread the love

एजेन्सी, असोज १४ (ई-रैवार) 

लागु औषध खरिद तथा प्रयोगको आरोपमा हाल जेल पुगेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीको जमानत उजुरीविरूद्ध भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले अदालतमा आफ्नो जवाफ पेस गरेको छ।

सेसन कोर्टले जमानत याचिका खारेज गरेपछि रियाले मुम्बई उच्च अदालतमा जमानतका लागि निवेदन दिएकी थिइन। निवेदनमा अदालतले आज सुनुवाइ गर्दैछ।

एनसिबीका अनुसार शोविक चक्रवर्तीसँग भएको सोधपुछमा उनले अब्दुल बासित, कैजान र जैदबाट लागुऔषध खरिद गर्ने गरेको बयान दिएका थिए। यो लागुऔषध किन्न दिवंगत अभिनेता सुसान्त सिंह राजपुतको पैसा प्रयोग हुनेगर्थ्यो र सो कार्य रियाको प्रत्यक्ष जानकारीमा हुन्थ्यो।

स्यामुअल मिरान्डाले पनि सुशान्त र रियाले भनेको आधारमा लागुऔषध किन्ने गरेको बताएका थिए।

रियाको जमानत रोक्न एनसिबीले दिएको दलिल यस्तो छ :

दीपेश सावन्तले कयौं पटक रियाले भनेर सुशान्तका लागि लागुपदार्थ ल्याउने कबुल गरेका छन। लागुपदार्थ किन्न चाहिने पैसा रिया र सुशान्तले दिन्थे। दीपेश सावन्तले स्यामुअल मिरान्डासँग मिलेर आफूले सुशान्तका लागि लागु औषध किनेको बताएका छन्।

शोविक चक्रवर्ती, स्यामुअल मिरान्डा र दीपेश सावन्तको बयानका आधारमा रियालाई उपस्थित हुने आदेश दिइएको हो। त्यसपछि तीन दिनसम्म अर्थात सेप्टेम्बर ६ देखि ९ सम्म एनडिपिएस ऐन अनुसार बयान लिइएको थियो। यो तीनदिनमा रियालाई शोविक, स्यामुअल र दीपेशको सामुन्ने राखेर सबै बयान प्रमाणित गरिएको थियोु, अदालतलाई दिएको जवाफमा एनसिबीले भनेको छ।

सो बयानमा रियाले लागुपदार्थ किन्नका लागि उनीहरूलाई पैसा र निर्देशन दिने गरेको स्वीकार गरेकी थिइन्।

यसरी रियाको बयानले उनी लागुपदार्थ वितरण गर्ने सिण्डिकेटको सक्रिय सदस्य थिइन् भने स्पष्ट पार्छ। उनले सुशान्तलाई लागुपदार्थ दिन्थिन् र यस क्रममा हुने पैसाको कारोवार पनि सम्हाल्थिन्। सोधुपुछका क्रममा भएका खुलासाका आधारमा रियाविरूद्ध ८ सेप्टेम्बरमा एनडिपिएस ऐन अन्तरगत पक्राउ गरिएको होु, थप जवाफमा एनसिबीले भनेको छ।

एनसिबीले आफ्नो जवाफमा जमानत मिलेको खण्डमा प्राप्त प्रमाणमाथि चलखेल हुनसक्ने भन्दै जमानत दिन नहुने दाबी गरेको छ।

रियाका अलावा कैजानको जमानत याचिकालाई पनि एनसिबीले चुनौती दिएको छ। दुबै याचिका विरूद्ध आज सुनुवाइ हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन्।