कांग्रेस पदाधिकारी बैठक बस्दै : राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको तयारी

कांग्रेस पदाधिकारी बैठक बस्दै : राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको तयारी
?????????????????????????????????????????????????????????
Spread the love

काठमाडौं, जेठ ७ (ई-रैवार) 

नेपाली कांग्रेसले पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ । कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक आज बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बोलाएको हो ।

नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक कदम भएको जनाएको छ । यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको हो ।

बैठक विहान ९ बजे पार्टी सभापति देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

सभापति देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् ।

यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने बेला आएको काँग्रेस नेता रमेश लेखकले बताए । ‘यो त अति भयो । यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना हो यो । यो विषयमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र लोकतन्त्रमाथि खतरा पैदा भएको लेखकले बताए । उनले भने, ‘यो देशबाट गणतन्त्र जान्छ भने विद्या भण्डारीका कारणले जान्छ । लोकतन्त्र जान्छ भने केपी ओलीका कारणले जान्छ । यो कुरा जनतामा लैजानका लागि पनि महाअभियोग र अविश्वासको प्रस्ताव ल्याउनुपर्छ ।’

विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । उनले आज बेलुका पाँच बजेसम्मको समय दिएकी छिन् । प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ।

संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको काँग्रेसले जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत हुनुका साथै आपत्तिजनक र असंवैधानिक रहेको बताएका छन् ।