काठमाडौँ, साउन ३० (ई-रैवार)
कोरोना महामारीविरुद्धको मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताएका छन् । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाएको छ ।
विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो ।
यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको पनि बताएका छन् ।
विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि यसैअघि नै १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ ।


