हेटौंडा, वैशाख २४ (ई-रैवार)
वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र माओवादी, काँग्रेस, जसपा र माधवनेपाल समूहका तर्फबाट खिमलाल देवकोटा, नेमकिपाका कृष्णबहादुर तामाङको उम्मदेवारी परेको हो ।
वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलले सूर्य चिन्हबाट र देवकोटाले हँसिया(हथौडा चिन्हबाट चुनाव लड्ने छन् ।
बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।
राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।
जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।


