देउवा र नेपालबीचको भेटवार्ता सकियो, नेता नेपाल शीतल निवासतिर

देउवा र नेपालबीचको भेटवार्ता सकियो, नेता नेपाल शीतल निवासतिर
Spread the love

काठमाडौं, वैशाख २३ (ई-रैवार) 

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काँग्रेस सभापति देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट नेता नेपाल शीतल निवासतिर लागेका हुन ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित भएको बताइएको छ ।

उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो । नेपाल पुगेको केहीबेरपछि उनीपक्षीय अर्का नेता भीम रावल पनि देउवा निवास पुगेका थिए । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्ड र यादवले ओलीका थप प्रतिगामी कदम रोक्न देउवासँग वार्ता गर्न सुझाएका थिए । सोही अनुसार नेपालले विहीबार विहानै देउवासँग भेटका लागि समय मागेका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् । काँग्रेस सभापति देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट नेता नेपाल शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँग मुखै फोरेर विश्वासको मत मागेका थिए ।मुलुकको राजनीतिक परिस्थिति तरल बन्दा नेताहरुको दौडधुप चलेको छ ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा भने मन्त्रिपरिषद् बैठक जारी छ । आजको मन्त्रिपरिषद् बैठक नियमित भने पनि महत्त्वपूर्ण निर्णय हुने स्रोत बताउँछ ।