होल्डिङ सेन्टरसहित गेटामा २ हजार क्षमताको आइसोलेसन निर्माण कार्य सुरु

होल्डिङ सेन्टरसहित गेटामा २ हजार क्षमताको आइसोलेसन निर्माण कार्य सुरु
Spread the love

धनगढी, वैशाख २१ (ई-रैवार)

गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ। धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा मंगलबारदेखि गेटा मेडिकल कलेजमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहनेगरी आइसोलेसन निर्माण कार्य सुरु गरिएको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) संयोजक एवं कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको बताएका छन्।

गेटा मेडिकल कलेज स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनका अनुसार होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण भइरहेको छ।

तत्काललाई ५ सय बेडको आइसोलेसन बनाइन लागेको भएपनि गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाउने हाम्रो लक्ष्य रहेको छ’ उनले भने- अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने ।

प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्‍यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए। मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेका थियो।

बैठकमा मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको लागि निर्देशन दिएका थिए।