नेपालगञ्ज, असोज ७ (ई–रैवार)
कोरोना संक्रमणबाट बर्दियाका एक वडा अध्यक्षको मृत्यु भएको छ । बारबर्दिया नगरपालिकाको एक वडाका ३९ वर्षीय वडा अध्यक्षको बुधबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुबै फोक्सोमा निमोनिया भएका बारबर्दिया नगरपालिका ती पुरुषको भेरी अस्पताल नेपालगञ्जमा बिहान साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
कोभिड–१९ को आशंकामा भदौ २८ गते उनको बर्दियाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनको स्वास्थ्यमा जटिल समस्या आएका कारण भदौ २९ गते भेरी अस्पतालमा भर्ना भएकै दिन स्वाब लिइएको थियो ।
भोलिपल्ट पोजिटिभ रिपोर्ट आएपछि उनलाई रेम्डिसिभिर चलाइनुका साथै असोज ४ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल बनेपछि बुधबार बिहान उनको मृत्यु भएको हो ।
योसंगै बाहिरी जिल्लाबाट बाँकेमा आइ उपचारका क्रममा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


