काठमाडौं, वैशाख १८ (ई-रैवार)
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमितका लागि बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको बताएका छन् ।
कांग्रेस प्रवक्ता शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा शैया उपलब्ध गराउन नसकिने सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको बताएका हुन ।
काँग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य आफै हतास नभई नागरिकलाई ढाडस दिनुपर्ने बताएका हुन् । स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक भए पनि संकटमा अपिल गरिरहँदा हतास र त्रास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने शर्माको भनाइ छ ।
अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै प्रवक्ता शर्माले भनेको छन, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’
विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’
‘निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने । राजनैतिक दलहरु, संघसंस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा के हो । फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने,’ विज्ञप्तिमा भनिएको छ, ‘खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ । यी समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी छ।’
नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ ।
संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने भन्दै अभावको गीत गाएर अभिभावकत्व पुरा हुन नसक्ने काँग्रेसको भनाइ छ । नेपाली कांग्रेस परिस्थितिको गम्भीरताबमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको थियो ।


