भारतमा एकैदिन ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ३५२३ जनाको मृत्यु

भारतमा एकैदिन ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ३५२३ जनाको मृत्यु
Spread the love

एजेन्सी, वैशाख १८ (ई-रैवार)

भारतमा एकै दिन चार लाखभन्दा बढी कोरोनाभाइरस संक्रमितका बिरामी थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो। एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो । यसअघिका आठ दिन लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएका थिए।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ। त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन्। भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६९ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २५ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३२ हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ११ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ ।

यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५२३ जनाले ज्यान गुमाएका छन्। गत एक सातादेखि दैनिक ज्यान गुमाउनेको संख्या तीन हजार नाघेको छ।

कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्रमै संक्रमितको ज्यान गइरहेको छ। महराष्ट्रमा एकै दिन ८२८ जनाको मृत्यु भएको छ। त्यसपछि दिल्लीमा ३७५ र उत्तर प्रदेशमा ३३२ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ७७८ पुगेको छ।

अहिले भारतमा दैनिक १९ लाख स्वाब परीक्षण भइरहेका छन्। पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ वटा स्वाब परीक्षण गरिएको छ।