राष्ट्र बैंकले २५ अर्ब रूपैयाँ बैंकमा मुद्दतीमा राख्ने, वाणिज्य बैंकका लागि छुट्यायो २० अर्ब

राष्ट्र बैंकले २५ अर्ब रूपैयाँ बैंकमा मुद्दतीमा राख्ने, वाणिज्य बैंकका लागि छुट्यायो २० अर्ब
Spread the love

काठमाडौं मंसिर। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २५ अर्ब ७ करोड २५ लाख रूपैयाँ मुद्दती निक्षेपका रूपमा राख्न ब्याजदर प्रस्ताव माग गरेको छ।

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले विभिन्न कोषमा रहेको रकम लगानी गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई छुट्टाछुट्टै सीमा तोकेर प्रस्ताव माग गरेको हो।

राष्ट्र बैंकले वाणिज्य बैंकमा २० अर्ब ४ करोड ५८ लाख रूपैयाँ राख्नेछ। त्यस्तै विकास बैंकमा ३ अर्ब ७६ करोड ९२ लाख र वित्त कम्पनीमा १ अर्ब २५ करोड ७५ लाख रूपैयाँ राख्नेछ।

यो रकम ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्न लागिएको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर आवेदन दिनुपर्नेछ।

ब्याजदर त्रैमासिक रूपमा भुक्तानी हुने गरी प्रस्ताव गर्नुपर्नेछ।प्रस्ताव पेस गर्न बैंक तथा वित्तीय संस्थाले विभिन्न वित्तीय मापदण्ड पूरा गरेको हुनुपर्ने उल्लेख छ।

सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र निष्क्रिय कर्जा अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेछ।संस्थाको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी हुनु हुँदैन।

त्यस्तै, खुद तरल सम्पत्ति र कर्जा निक्षेप अनुपात पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्छ।

पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद नाफामा रहेको संस्था मात्रै प्रस्ताव पेस गर्न योग्य हुनेछन्।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।

समस्याग्रस्त घोषणा भएको संस्था भए समस्याग्रस्त अवस्था हटेको पनि कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।

सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने सर्तसमेत राखिएको छ।

प्रस्ताव पेस गर्दा संस्थाले पछिल्लो तीन महिनाको वित्तीय विवरण र प्रमुख वित्तीय सूचकांक पनि खुलाउनु पर्नेछ।

यसमा पुँजीकोष, निष्क्रिय कर्जा, खुद निष्क्रिय कर्जा, खुद तरल सम्पत्ति, कर्जा निक्षेप अनुपात, चुक्ता पुँजी र खुद नाफाको विवरण समावेश गर्नुपर्नेछ।

राष्ट्र बैंकले प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार आफैँमा राखेको छ।

प्रस्तावित ब्याजदर लगानी गर्ने मितिसम्म कायम रहने र त्यसबीच सम्बन्धित संस्थाले सार्वजनिक गर्ने ब्याजदर परिवर्तनको सूचनाले प्रस्तावित दरमा असर नपार्ने पनि जनाइएको छ।