धनगढी, वैशाख १८ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालका अनुसार कैलालीमा ३ जना, कञ्चनपुरका ३ जना र डडेल्धुरामा १ जनागरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोवीन्द रोकायाका अनुसार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको हो । उनीहरुको संक्रमणपछि केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। दुवैको शुक्रबार राति मृत्यु भएको उनले बताए ।
त्यस्तै भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइशोलेसन मृत्यु भएको छ । कोरोना संक्रमित ती पुरुषको पनि शुक्रबार राति नै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डा. रोकायाले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलालीको लम्की टिकापुर नगरपालिका वडा नम्बर ७ की ५० बर्षीया महिलाको उपचारका क्रममा आज बिहान करीव एक बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि ११ गते अस्पताल भर्ना भएकी ती महिलाको उपचारको क्रममा सेती अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै जानकी गाउपालिका वडा नं. ३ की ५९ वर्षिया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गोदावरी नगरपालिकाका २८ बर्षीय पुरुषको सेती अस्पतालमा उपतारकै क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत उनीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।
देशभरी हिजो ३३ जनाको मृत्यु हुदा सुदूरपश्चिममा ११ जनाको मृत्यु भएको थियो ।


