प्रहरी र हतियारधारी समुहबीच गोली हानाहान, पेस्तोलसहित २ पक्राउ, ३ जना फरार

प्रहरी र हतियारधारी समुहबीच गोली हानाहान, पेस्तोलसहित २  पक्राउ, ३ जना फरार
Spread the love

सुनसरी, साउन २ (ई-रैवार)

सुनसरीको देवानगन्जमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ । सीमावर्ती क्षेत्र समेत रहेको देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की छेउमा गएराति प्रहरी र भारतीय तस्करहरूबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

घटनामा दुई तस्कर घाइते भएका छन । अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई जाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार हतियार देखेर खोस्न थालेपछि प्रहरीलाइ गोली हान्न खोजेका थिए ।

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ । गस्तिमा रहेको प्रहरी टोलीले ३ जना भारतीय नागरिकसहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी गोली हानेका थिए ।

प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।