बुटवल, वैशाख १६ (ई-रैवार)
लुम्बिनी प्रदेशमा चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको हो ।
प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।
जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम चारै जनालाई कारवाहीको व्यहोरा जानकारी गराइएको उल्लेख गरेको छ ।
सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष पाण्डे नियुक्त भएका छन्। यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव बनेका छन्। कल्पना पाण्डे शिक्षा तथा सामाजिक, सुमन शर्मा रायमाझी भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका थिए।



