काठमाडौँ, वैशाख १४ (ई-रैवार)
नेपालमा आज थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा १२४, ललितपुरमा २४० र काठमाडौंमा १ हजार ६०२ जना गरी १ हजार ९६६ कोरोना संक्रमित थपिएका छन्। यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ। पछिल्लो २४ घण्टामा ५५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९०.५ प्रतिशत छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।



