प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम : प्रधानमन्त्री देउवा

Spread the love

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकोमा प्रशंसा गरेका हुन ।

प्रधानमन्त्री देउवाले भने, “मुलुकमा संकट आउँदा, असामान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।”

‘आम नागरिकप्रतिमा आफूप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउन, सुरक्षित वातारण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलता अक्षरशः पालना गर्न आग्रह छ,’ उनले भने, ‘जनतको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्नेगरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’ 

उनले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे । मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र संघीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गरे ।

प्रधानमन्त्री देउवाले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढंगले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

जिम्मेवारीमा जुट्न गृहमन्त्रीको निर्देशन

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसायोग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले कोभिड-१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपीएफ अस्पतालमार्फत् सङ्क्रमितहरूको उपचारमा पुर्‍याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरे ।

गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिए ।

सो क्रममा उनले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे ।

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश: पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पारे ।

उनले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जानकरी पनि दिए । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैं तयार रहेको बताए ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत् स्रोतसाधनको अधिकतम परिचालन गरी पेशागत निर्वाह गरिरहेको जानकारी दि‌ए । समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।