काठमाडौं, फागुन २३ (ई-रैवार)
सर्वोच्च अदालतले नेकपा नाम विवादका विषयमा परेको मुद्दाको फैसला आइतबार सुनाउने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको बहस सुनिसकेपछि मुद्दाको स्थिति निसुमा राखेको थियो ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा उनले आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएकाले बदर हुनुपर्ने माग गरेका थिए ।
सत्तारुढ नेकपा विभाजनको स्थितिमा पुगेको सयमा आउन लागेको कट्टेलले दायर गरेको मुद्दाको फैसलालाई निकै उत्सुकताका साथ हेरिएको छ ।
सरकारले गरेको संसद् विघटनको निर्णय बदर गरेपछि पुनर्स्थापित संसद्को पहिलो बैठक बस्ने दिन नै नेकपा विवादको फैसला आउन लागेको हो । निर्वाचन आयोगले पनि नेकपा विवादका विषयमा कुनै निर्णय दिएको छैन ।


