काठमाडौं, वैशाख १३ (ई-रैवार)
कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघले आग्रह गरेको छ । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न आग्रह गरेको हो ।
चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा कोरोना संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो ।
संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।
अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणागरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।




