नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्‍यु

Spread the love

काठमाडौं : नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ भने ८ लाख १८ हजार ८०९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेका छन् । जसमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो । कास्कीमा ३६६, मोरङमा ३२६, सुनसरीमा २९८, रुपन्देहीमा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६ र चितवनमा ११५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५ र सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन् भने कञ्‍चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८/२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६/२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्‍चिममा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १४ पुग्यो

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित ५ सयभन्दा बढी थिए ।