काठमाडौँ, जेठ १६ (ई-रैवार)
प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो ।
शुक्रबारको बहसमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलासमै मतभेद भएपछि सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेर स्थगित गरिएको थियो ।
कानुनविद् गोबिन्द बन्दीले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए । “नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो, “त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।”
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा नरहँदा अदालतको मान बढ्ने कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए ।
विवादकै बीच शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद समेत भएको थियो ।
इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० ओटा रिट दर्ता भएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदसहितको एउटा संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट परेका छन् ।
यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।


