एजेन्सी, वैशाख १२ (ई-रैवार)
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले आइतबार साँझ सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ६९ रनको सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार भएको खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लाेरविरुद्ध ६९ रनको फराकिलो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो ।
बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले १५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर विराट कोहली र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ३.१ ओभरमा ४४ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । युवा अलरउन्डर साम करनले विराटलाई महेन्द्रसिंह धोनीबाट ८ रनमा क्याच गराएसँगै बेंगलोरले लगातार विकेट गुमाएको थियो ।
वासिन्टन सुन्दर ७, ग्लेन म्याक्सवेल २२ र एवि डिभिलियर्स ४ रनमा आउट भए । काइल जामिसनले १६, मोहम्मद शिराजले १२ र युजभेन्द्र चहलले ८ रन जोडे । चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । साम करन र शार्दूल ठाकुरको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा २८ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा अविजित रहे । रविन्द्र जडेजाले तीव्र गतिका बलर हर्षल पटेललाई अन्तिम ओभरमा ५ छक्का र एक चौका सहित कुल ३७ रनको विष्फोटक इनिङ खेलेपछि चेन्नई बलियो योगफलमा पुगेको हो । लगातार चार छक्काका साथ जडेजाले २५ बलमा अर्धशतक पूरा गरेका थिए ।
चेन्नईका ओपनर फाफ डु प्लेसिसले ४१ बलमा ५ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । चेन्नईलाई ओपनर फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ९.१ ओभरमा ७४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर युजभेन्द्र चहलले ऋतुराजलाई ३३ रनमा काइल जामिसनबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
ऋतुराजले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको चौथो बलमा हर्षल पटेलले सुरेश रैनालाई देवदत्त पाडिक्कलबाट २४ रनमा क्याच आउट गराए । रैनाले १८ बलमा १ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा फाफ डु प्लेसिस क्याच आउट हुन पुगेका थिए । अम्बाती रायूडू ७ बलमा १ चौका र १ छक्का सहित १४ रनमा क्याच आउट भए । बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।
यो जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ ।
पन्जाब पाँचौं र राजस्थान रोयल्स छैटौं स्थानमा छन् । राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ । समान २ अंकका साथ सनराइजर्स हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन् । चेन्नईले अव बुधबार दिल्लीमा हैदराबादसँग खेल्ने छ । बेंगलोरले मंगलबार अहमदाबादमा दिल्लीसँग खेल्ने छ ।


