प्रधानमन्त्री ओलीले दिए क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री ओलीले दिए क्रिकेट टोलीलाई बधाई
Spread the love

काठमाडौं, वैशाख १२ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले  क्रिकेट टोलीलाई बधाई दिएका छन् । ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि विजेता  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

नेपालले शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो । घरेलु मैदानमा नेपाल ११ वर्षपछि विजेता बनेको हो ।

“नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२०  क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै सानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !,” प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन् ।

नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तर्राष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।

साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।