नेपालमा थप २ हजार ३५१ जनामा कोरोना पुष्टि, नौवटा नियम पालना गर्न मन्त्रालयको अनुरोध

नेपालमा थप २ हजार ३५१ जनामा कोरोना पुष्टि, नौवटा नियम पालना गर्न मन्त्रालयको अनुरोध
Spread the love

काठमाडौं, वैशाख ८ (ई-रैवार)

नेपालमा आज थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जाकारी अनुसारपछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएको जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरूमा प्रदेश १ मा ९४ जना, २ मा १४०, वाग्मती प्रदेशमा १ हजार २६७, गण्डकीमा १४२, लुम्बिनीमा ५०९, कर्णालीमा ५३ र सुदूरपश्चिम प्रदेशमा ५३ जना छन् । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ११२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

वैशाखभर नौवटा नियम पालना गर्न मन्त्रालयको अनुरोध

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि वैशाख ३१ गतेसम्म नौवटा नियम पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै वैशाख मसान्तसम्म यी नियम पालना गर्न सबैमा अनुरोध गरेको हो ।
यस्ता छन् नौ अनुरोध

१– सार्वजनिक सवारी साधनमा सबैले अनिवार्य मास्क लगाउने

२– सिनेमा हल, पार्टी प्यालेस, दर्शकसहितको खेलकुद, हाटबजार, जुलुस, आमसभा बन्द  गर्ने

३– होटल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै सेवा दिने

४–विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिने

५– डिपार्टमेन्टल स्टोर र मलभित्र भौतिक दुरी कायम गर्दै प्रवेश गर्ने

६– सहरी क्षेत्रका विद्यालय भौतिक रुपमा बन्द गर्ने पूर्वनिर्धारित परीक्षाहरु जनस्वास्थ्यका मापदण्डसहित सञ्चालन गर्ने

७– सभा सम्मेलन सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने

८– धार्मिकस्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने

९– विदेशबाट आउने अनिवार्य १० दिन क्वारेन्टिनमा बस्ने