काठमाडौं, वैशाख ३ (ई-रैवार)
स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो ।
शिक्षा मन्त्रालय शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन भने अपिल गरेको छ ।
मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ । ‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नु हुन र बन्द गरिएका विद्यालयहरू पुन:सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्नु हुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु हुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।
साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।



