धनगढी, वैशाख ३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त सरकार बनाउने पहल सुरु भएको छ । गण्डकी प्रदेशमा सत्ता साझेदारीका लागि बनेको माओवादी केन्द्र, कांग्रेस र जसपाको समीकरण सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयनका लागि पहल भइरहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रसँग १३, कांग्रेससँग १२ र जसपासँग दुई जना सांसद छन् । तीनवटै दल मिल्दा सुदूरपश्चिममा सरकार बनाउन आवश्यक सांसद संख्या २७ पुग्ने छ ।
नेकपाको विभाजनपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किसकेका छन् । नेकपाभित्र ओली र नेपाल समूहबीचको गुटबन्दी चरमोत्कर्षमा छ । विवादका कारण प्रदेश सरकारको भविश्य अन्यौलग्रस्त छ । एमालेभित्रको विवादका बीच माओवादी केन्द्र र कांग्रेसका बीचमा केन्द्रमा सत्ता साझेदारीका लागि सहमति भएको छ ।
गण्डक प्रदेशमा माओवादी केन्द्र कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने माओवादीले सरकारको नेतृत्वमा दावी गरिरहेको छ । तर, सुदूरपश्चिममा कांग्रेस आफूले सरकारको नेतृत्व पाएमात्रै त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार परिवर्तनका लागि तयार हुने स्रोतको दाबी छ ।
“केन्द्रमा भएको सहमति अनुसार यहाँ पनि सरकार परिवर्तनका लागि प्रारम्भिक छलफल भइरहेको हो,” सुदूरपश्चिम प्रदेश सभाका कांग्रेस सांसद स्रोतले भने, “हामीले नेतृत्व पाउनु पर्छ । नेतृत्व नपाएपछि किन अहिलेको सरकारको विकल्प खोज्नु ?”
कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि माओवादी र कांग्रेसबीच प्रदेश स्तरमा सरकार कसको नेतृत्वमा बनाउने भन्ने बारेमा सहमति भइनसकेको र छलफल प्रारम्भिक रुपमा नै रहेको बताएका छन् ।
केन्द्रमा दुई पार्टीका शीर्षस्थ नेताहरुबीच भएको सहमति र समझदारीअनुसार सुदूरपश्चिममा सरकार निर्माणको प्रकृया अघि बढ्ने उनको भनाइ छ । डा. रावलले केन्द्रमा भएको समीकरण र सहमतिका बारेमा आफूलाई औपचारिक रुपमा नेतृत्वबाट कुनै निर्देशन नआएको पनि बताए ।
माओवादी केन्द्रका सुदूरपश्चिम सह–इन्चार्ज खगराज भट्टले सरकारको स्थायीत्व र स्थिरता माओवादी केन्द्रको पहिलो प्राथमिकतामा रहेको बताए । “अहिलेसम्म हामी नेकपा एमालेसँगको समिकरणमा सरकारको नेतृत्व गरिरहेका छौं । र, हामी अहिलेकै गठबन्धन कायम रहोस् भन्ने चाहन्छौं,” उनले भने, “तर, यो गठबन्धन कायम रहने वा नरहने भन्ने कुरा एमालेको हातमा छ । एमालेभित्रको विवादका कारण सरकार असुरक्षित हुँदा हामी नयाँ विकल्पका बारेमा छलफल चलाउन बाध्य हुनेछौं ।”
गण्डकी प्रदेशमा भएको सत्ता समीकरण सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन हुन सक्ने सह–इन्चार्ज भट्टको भनाइ छ । गण्डाकी प्रदेशमा बिहीबारमात्रै माओवादी, कांग्रेस र जसपाले कांगेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । लेखाजोखा न्युजबाट


