काठमाडौं, चैत २७ (ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका चारजना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी पुनर्नियुक्ति हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशङ्कर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।
उनीहरूलाई आजै साँझ ५ बजे शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केहीदिनअघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।
हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ ।
नीहरूलाई राष्ट्रपति भण्डारीले धारा ७८ (१) अनुसार मन्त्री पदमा पुनः शपथ गराउन लागेकी हुन् । चारैजना यसअघि सम्बन्धित मन्त्रालयका मन्त्री थिए । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । यसअघि अर्थमन्त्री युवराज खतिवडाले सोही प्रावधानअन्तर्गत पुनर्नियुक्ति पाएका थिए ।



