शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस

शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस
Spread the love

काठमाडौं, चैत २७ (ई-रैवार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो पटक विद्यार्थीमा कोरोना संक्रमण फैलिएसँगै विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरिएको बताएका छन ।

पछिल्लो लहरमा कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसबारे कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएका छन।

नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले राति ९ बजेपछि रात्रिकालिन व्यवसाय बन्द गर्न निर्देशन दिइसकेको छ। दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुराँ, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ । हिजो मात्र ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।