कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
Spread the love

काठमाडौं, चैत्र २ (ई-रैवार) 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । आज दिउँसो २ बजेका लागि डाकिएको बैठकमा भोलि हुने प्रतिनिधिभमा बैठकको कार्यसूचीबारे छलफल हुने भएको होे ।

सभामुखले नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण तथा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र जनता समाजवादी पार्टी (जसपा)का सचेतक उमासंकर अर्गरियालाई आमन्त्रण गरेका छन् ।

बढीमा १७ जनासम्म बोलाउन मिल्ने प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको व्यवस्थाअनुसार सभामुखले बैठकमा सहभागीहरुलाई आमन्त्रण गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको बैठकबारे व्यवस्था गरिएको छ। नियम १३ (१) मा ‘बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ’ भन्ने व्यवस्था छ।

तत्कालीन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाका कारण आधिकारिकता विवाद हुँदा यसअघिका दुईवटा संसद् बैठकमा सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिएनन् । तर, सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)बीचको एकता खारेज भएर दुई पार्टी बनेपछि अहिले आधिकारिकता विवाद टुंगिएको छ ।

गत फागुन २३ गते पुन:स्थापित प्रतिनिधिसभाको पहलो बैठक बसेको थियो। त्यसपछि फागुन २६ गते दोस्रो बैठक बसेको थियो। तर, कार्यव्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेको थिएन। सत्तारूढ दलभित्रको किचलोको असर संसद्‍मा परेको छ। यसअघिका दुवै बैठक औपचारिकतामा सीमित भएका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्दा अध्यादेश टेबुल गर्नेदेखि दलका नेताले सम्बोधन गर्ने कार्यक्रमसम्ममा जटिलता निम्तिएको थियो।