काठमाडौं, फागुन २९ (ई-रैवार)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय दिएको हो ।
गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् ।
माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीमा मनोनीत गरेका नेताहरुलाई पार्टी परित्याग गरेको हो अथवा होइन जानकारी गराउन निर्देशन दिएको छ । २४ घण्टाभित्र पार्टी परित्याग गरेको हो वा होइन जानकारी गराउन निर्देशन दिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा ‘बादल’सहितका नेताहरु नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए ।
जसमध्ये बादल, थापा, भट्ट, थारु र लामा मन्त्री छन् ।ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।
चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ । राष्ट्रिय राजनीतिक विषयमा अन्य पार्टीहरुसँग थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले कार्यकर्ता भेला स्थगित गरिएको स्थायी कमिटी सदस्य लिलामणि पोख्रेलले जानकारी दिए ।


