काठमाण्डौँ, फागुन १३ (ई-रैवार)
नेकपाका नेता वामदेव गौतमले पुष्पकमल दाहालको निवास पुगेर भेटवार्ता गरेका छन् । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष दाहालको निवास खुमलटार पुगेर आज बिहान गौतमले आधाघण्टा भेटवार्ता गरेका हुन ।
नेकपाका नेता गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले एकताको प्रस्ताव लिएर दाहालको निवास पुगेका हुन् । प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।
गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका नेता गौतमले प्रचण्डसँगको भेटमा ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताए । ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले अनलाइनखबसँग भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’
नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । गौतमले यसअघि बुधबार पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका थिए ।


