काठमाडौँ, जेठ १८ (ई-रैवार)
सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहटरथारूवान संयुक्त संघर्ष समितिबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइलगायत ६ बुँदे सहमति भएको हो ।
सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिएकी छन् ।

सहमतिको पहिलो बुँदामा थरुहटरथारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनअनुसार पहल गरिने उल्लेख गरिएको छ ।
थरुहटरथारुवान आन्दोलका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई पनि काुननी दायरामा ल्याउने पनि सहमतिमा जनाइएको छ ।
सरकारले थारु कल्याणकारिणी सभासँग वार्ता गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेको वार्ता टोली गठन गरेको थियो । त्यस्तै थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोलीमा रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए ।
सरकार र थारु कल्याणकारी सभा,थरुहटरथारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । थारु कल्याणकारिणी सभाले लामो समयदेखि रेशम चौधरीको रिहाइलगायतका माग राखेर आन्दोलन गर्दै आएको थियो ।




