धनगढी, फागुन २ (ई-रैवार)
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हो ।
घाँस काट्न जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो। बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको बताए । भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको बसन्ता करिडोरहुँदै बाघ गौरीगंगा नगरपालिकाको मसुरिया क्षेत्रमा आइपुगेको हो।
दुई दिन अघि कैलारी गाउँपालिकामा एक जनालाई आक्रमण गरी घाइते बनाएको बाघ बसन्ता करिडोरहुँदै मसुरिया क्षेत्रमा आइपुगेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले बताए। उनले भने,‘बाघले मानिसलाई आक्रमण गर्न थालेपछि हामीले क्यामेरा ट्रयापिङ थालेका छौँ।’ क्यामेरा ट्रयापिङबाट बाघ पत्ता लागेपछि समातेर संरक्षित क्षेत्रमा सार्ने वा कुनै चिडियाखानामा राख्ने भन्ने कुरा भइरहेको बताउँदै उनले भने,‘आजदेखि हामीले प्रहरी तथा कर्मचारी परिचालन गरेर क्यामेरा ट्रयापिङ थालेका छौँ, र आसपाका बास्तीमा सजग हुन पनि सूचना जारी गरेका छौँ।’


