प्रधानमन्त्री ओली खुमलटारमा : दाहाललाई भेट्न खुमलटार जाँदै

प्रधानमन्त्री ओली खुमलटारमा : दाहाललाई भेट्न खुमलटार जाँदै
Spread the love

काठमाडौँ, पुस  ४  (ई-रैवार)

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैछन्  । पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्री ओली आफैं पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका हुन ।

“प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेर खबर आएको थियो । सुरक्षालाई पनि जानकारी गराइएको रहेछ,” प्रचण्ड स्रोतले भन्यो । संसदीय दलका उपनेता सुवास नेम्वाङले बालुवाटार बसेर भेटघाट र संवादको तारतम्य मिलाएको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको छ । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जान लागेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली खुमलटार जानेभएपछि नेकपाभित्र तरङ्ग उत्पन्न भएको छ । पार्टी विभाजनको बलियो आधार तयार पार्न समानान्तर भेला, बैठक, छलफल गर्दै आएका नेकपाका नेताहरू चकित परेका छन् । उनले खुमलटारगमनलाई ओली लचिलो हुने सङ्केतका रूपमा बुझेका छन् । र, त्योभन्दा बढी राजनीतिक सन्देशका रूपमा ।

“अप्ठ्यारो परेपछि ओली जे पनि गर्न तयार हुनुहुन्छ र जस्तासुकै सम्झौता गर्न तत्पर देखिनुहुन्छ भन्ने देखिएकै हो । आजको खुमलटारगमन पनि त्यसकै निरन्तरता हो,” नेकपाका एक नेताले भने, “राजनीतिक तहको छलफलका लागि ओली खुमलटार टेकेको पहिलोपटक हो ।”