प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा जारी

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा जारी
Spread the love

काठमाडौं, मंसिर २३ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्रीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको हो ।

बालुवाटारमा जारी बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।बैठक शुरु गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण तथा जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन आग्रह गरेका छन् ।

बैठकमा अहिले राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल भइरहेको बुझिएको छ । पछिल्लो समय राजतन्त्रको माग गर्दै भइरहेको विरोध प्रदर्शन र नेपाली कांग्रेससहितका दलहरुले सरकार विरोधी आन्दोलनमा जाने तयारीलगायत विभिन्न समस्याबारे प्रधानमन्त्री ओलीले छलफल थालेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।

यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।