काठमाडौँ, फागुन २८ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । बालुवाटारमा शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकबाट उनले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका हुन् ।
बैठकले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । यसअघि उक्त जिम्मेवारीमा अष्टलक्ष्मी शाक्य थिइन्। थापासँगै एमालेमा गएका २२ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
एमाले अध्यक्ष ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको छ । बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।
एमालेको २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो। त्यतिबेला उपाध्यक्षमा विद्या भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल चुनिएका थिए।
त्यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट निर्वाचित भएका थिए।
प्रदेश इन्चार्जहरू सत्यनारायण मण्डल (प्रदेश २), पृथ्वीसुब्बा गुरुङ (गण्डकी) र शंकर पोखरेल (लुम्बिनी) कायमै छन्। उनीहरु ओली पक्षका नेताहरु हुन्।
बैठकले तत्काली नेकपा दुई समूहमा विभाजित आफ्नो समूहले गरेको सबै नियुक्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक चैत १ गतेका लागि बोलाएको छ। त्यसको पूर्वसन्ध्यामा भएको यस किसिमको निर्णयले विवादले झनै उग्र रूप लिने देखिएको छ।


